काठमाडौं – मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई भक्तपुरको निकोसेरास्थित निवासबाट पक्राउ गरेको हो। भक्तपुरका प्रहरी प्रमुख (एसपी) सूर्य खड्काको नेतृत्वमा गएको टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। आन्दोलनको घोषणा गरेको केही समयमै प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ। प्रहरीको उच्च स्रोतका अनुसार प्रसाईंलाई नियन्त्रणमा लिइएको पुष्टि भएको छ। उनी यसअघि पनि विभिन्न मुद्दामा पटक–पटक पक्राउ परेर छुट्दै आएका छन्।
गत वर्ष तीनकुनेमा भएको प्रदर्शनको नेतृत्व गरेका प्रसाईंको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको थियो। त्यस्तै, यसअघि जेठ ४ गते पनि उनलाई पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको थियो। त्यसबेला सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गरेको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।



