सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ, अहिले संयमता आवश्यक : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। मंगलबार साँझ भिडियो वक्तव्य जारी गर्दै उनले ओमप्रकाश मेहताको मृत्यु भएको घटनाबारे सरकारसँग जवाफ माग्दै दोषीमाथि कारबाही हुनुपर्ने बताएका हुन्। थापाले मेहतामाथि ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने बताए। उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै सरकारलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए।

उनले अहिलेको संवेदनशील परिस्थितिमा राजनीतिक दल, नागरिक समाज र आम नागरिक सबैले संयमता अपनाउनुपर्ने आवश्यकता औंल्याए। अफवाह, उत्तेजना र प्रतिशोधले परिस्थिति झन् बिग्रन सक्ने भन्दै उनले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरे। थापाले नेपाल विविधतामा एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको आधारमा अघि बढेको मुलुक भएको उल्लेख गर्दै यस्ता मूल्यलाई जोगाउनु अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी भएको बताए।

उनले नेपाली कांग्रेसका स्थानीय नेताकार्यकर्तालाई पीडित परिवार र घाइतेहरूको सहयोगमा जुट्न निर्देशन दिँदै हिंसा र आक्रमणबाट होइन, संवाद, संवेदना र कानुनी प्रक्रियाबाट समस्याको समाधान खोज्न आग्रह गरे। सभापति थापाले सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने र यस घटनाको राजनीतिक तथा प्रशासनिक जिम्मेवारीबाट उम्किन नपाउने स्पष्ट पारे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्