नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा, परीक्षण अवधिमा अत्यावश्यक सवारीलाई मात्रै प्रवेश

काठमाडौं – सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहान सुरुङमार्गको उद्घाटन गरेका हुन्।

काठमाडौंलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो देशकै पहिलो व्यवस्थित सडक यातायात सुरुङमार्ग हो। सुरुङ सञ्चालनमा आएपछि काठमाडौं प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ।

उद्घाटनपछि केही दिन सुरुङमार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ। परीक्षण अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सेवाका गाडीलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ। सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः योग्य सबै सवारीसाधनका लागि सुरुङ खुला गरिने सडक विभागले जनाएको छ।

परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने विभागले जनाएको छ। नियमित सञ्चालनमा आएपछि भने निर्धारित शुल्क तिर्नुपर्नेछ।

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डमा हुने लामो ट्राफिक जाम, तीव्र उकालो, घुमाउरा सडक तथा दुर्घटनाको जोखिम घट्ने र यात्रामा झण्डै एक घण्टासम्म समय बचत हुने अपेक्षा गरिएको छ। साथै इन्धन खपत तथा मालवाहक र यात्रुवाहक सवारीसाधनको सञ्चालन खर्चसमेत घट्ने विश्वास गरिएको छ।

करिब साढे दुई किलोमिटर लामो सुरुङमार्गअन्तर्गत दुईवटा सुरुङ निर्माण गरिएका छन्। मुख्य सुरुङसँगै समानान्तर रूपमा निर्माण गरिएको उद्धार सुरुङ आकस्मिक उद्धार तथा आपत्कालीन अवस्थामा प्रयोग गरिनेछ। सुरुङ निर्माण जापानको हाज्मा एन्डो कर्पोरेसनले गरेको हो।

आयोजनाका परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङमार्गलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित बनाइएको छ। सुरुङभित्र अत्याधुनिक सीसीटीभी निगरानी प्रणाली, आकस्मिक उद्धार संयन्त्र, दमकल तथा आगलागी नियन्त्रण प्रणाली, सञ्चार तथा सुरक्षा उपकरण, निरन्तर अक्सिजन तथा भेन्टिलेसन प्रणाली र आपत्कालीन उद्धार मार्गको व्यवस्था गरिएको छ।

तर सुरुङमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन। पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन तथा पेट्रोल, डिजेल, ग्यासलगायत प्रज्वलनशील पदार्थ वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ।

नियमित सञ्चालनमा यस्तो हुनेछ शुल्क

परीक्षण अवधि सकिएपछि सुरुङ प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क निर्धारण गरिएको छ।

  • कार तथा भ्यान: काठमाडौं प्रवेश गर्दा रु. ६५, बाहिरिँदा रु. ६०
  • मिनीबस, ट्रक तथा टिपर: काठमाडौं प्रवेश गर्दा रु. ११५, बाहिरिँदा रु. ८०
  • ठूला बस तथा ट्रक: काठमाडौं प्रवेश गर्दा रु. २६०, बाहिरिँदा रु. २००

सुरुङमार्गको शुल्क भुक्तानी पूर्ण रूपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गरिएको छ।

सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक सडक पूर्वाधारको नयाँ युग सुरु भएको मानिएको छ। यसले काठमाडौं प्रवेश तथा बाहिरिने मुख्य नाकामा वर्षौंदेखि हुँदै आएको ट्राफिक जाम घटाउने, यात्रा समय छोट्याउने, इन्धन बचत गर्ने तथा सडक दुर्घटनाको जोखिम कम गर्ने अपेक्षा गरिएको छ।

साथै काठमाडौं–मुग्लिन हुँदै देशका विभिन्न भागसँगको सडक सम्पर्कलाई थप प्रभावकारी बनाउने र भविष्यमा निर्माण हुने अन्य सुरुङमार्गका लागि समेत नागढुङ्गा–सिस्नेखोला आयोजना महत्वपूर्ण नमुना परियोजना बन्ने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्