काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ठूलो गिरावट आएको छ। नेप्से परिसूचक ३३.२८ अंकले घटेर २,७०१ अंकमा झरेको छ।
अघिल्लो कारोबार दिन नेप्से ७.९० अंकले बढेको थियो। सोमबार कारोबार खुलेपछि केही समय बजार बढ्दै दिउँसो १२ः१३ बजे २,७४४ अंकसम्म पुगेको थियो। त्यसपछि भने बजार निरन्तर ओरालो लाग्दै अन्तिम समयमा २,७०१ अंकमा आएर बन्द भएको हो।
बजार परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ४ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज २७५ कम्पनीमध्ये ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको घटेको छ। ५ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
समूहगत परिसूचकतर्फ बैंकिङ समूह ०.१० प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.३० प्रतिशतले घटेको छ।
त्यस्तै व्यापार समूह २.२३ प्रतिशत, होटल तथा पर्यटन २.२२ प्रतिशत, विकास बैंक १.८२ प्रतिशत, फाइनान्स ०.७० प्रतिशत, जलविद्युत् १.९० प्रतिशत, लगानी ०.७० प्रतिशत, जीवन बीमा १.२५ प्रतिशत, माइक्रोफाइनान्स १.२७ प्रतिशत, निर्जीवन बीमा १.२१ प्रतिशत तथा अन्य समूह १.६९ प्रतिशतले घटेका छन्।
एभरेस्ट कलरको सेयर १५ प्रतिशत बढ्यो
हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै गोर्खाज फाइनान्स ३.८६ प्रतिशत र धौलागिरि लघुवित्त ३.११ प्रतिशतले बढेका छन्।
यता आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १३.३८ प्रतिशतले घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक ९.६३ प्रतिशत, कालंगा हाइड्रोपावर ८.५२ प्रतिशत, सालपा विकास बैंक ८.१९ प्रतिशत तथा होटल फरेस्ट इन ७.५७ प्रतिशतले घटेका छन्।
रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा सोमबार रिलायन्स स्पिनिङ मिल्स, ग्लोबल आईएमई बैंक, रिडी पावर, कुमारी बैंक र सेन्ट्रल फाइनान्स सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन्।



