सुनसरी तनावग्रस्तः प्रहरीको गोलीबाट एकको मृत्यु, पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले दक्षिणी क्षेत्रका पाँच बजारमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको जानकारी दिएका छन्। कर्फ्यु अवधिमा हिँडडुल, भेला, जुलुस तथा सभा–सम्मेलन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

आइतबार राति साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाँदै गरेका युवाहरू र अर्को समूहबीच रातिको होहल्लालाई लिएर विवाद सुरु भएको थियो। विवाद झडपमा परिणत भई स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर देवानगञ्ज-३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा प्रहरीको गोली लागेर आठ जना प्रदर्शनकारी घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

स्थिति थप बिग्रिन नदिन जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकपछि कर्फ्यु लागू गरिएको हो। साथै, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका क्षेत्रमा निषेधाज्ञासमेत जारी गरिएको प्रशासनले जनाएको छ। सुरक्षा निकायले प्रभावित क्षेत्रमा उच्च सतर्कतासहित निगरानी बढाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्