काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायतर्फ एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र सार्वजनिक भएको घटनामा एक शिक्षक नै पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट दुई वटा कलेजमा अध्यापन गराउँदै आएका कैलाली घर भएका ३३ वर्षीय शिक्षक सन्दीप सिंहलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
सीआईबीका अनुसार सिंहले एमबीएस पहिलो सेमेस्टरको एमजीटी-५१५ ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै ह्वाट्सएप समूहमा सार्वजनिक गरेका थिए। उनी भक्तपुरमा बसोबास गर्दै आएका थिए। प्रश्नपत्र झण्डै एक हजार २३ सदस्य रहेको ह्वाट्सएप समूहमा भाइरल भएपछि त्रिविको व्यवस्थापन सङ्काय डिन कार्यालयले गत शनिबार नै घटनाको अनुसन्धान तथा कानुनी कारबाहीका लागि सीआईबीलाई पत्राचार गरेको थियो।
घटनापछि त्रिवि परीक्षा नियन्त्रण महाशाखाले निष्पक्ष छानबिनका लागि प्राध्यापक डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई सात कार्यदिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। सीआईबीले एमबीएस पहिलो सेमेस्टरका अन्य विषयका परीक्षा अझै बाँकी रहेकाले यस्ता गैरकानुनी गतिविधि दोहोरिन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। यस्ता कार्यमा संलग्न जो–कोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने पनि ब्युरोले चेतावनी दिएको छ।



