काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नामिबियासँग महत्वपूर्ण एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ। नेदरल्यान्ड्समा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ। पछिल्ला खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेका नेपाल र नामिबिया दुवै टोली जितसहित पुनरागमन गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। यसअघि लिग-२ अन्तर्गत भएको भेटमा नामिबियाले नेपाललाई ८ विकेटले पराजित गरेको थियो।
नेपालले आफ्नो अघिल्लो खेलमा आयोजक नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोरेको थियो भने नामिबियाले पनि नेदरल्यान्ड्ससँग ५८ रनले पराजय व्यहोरेको थियो। त्यसैले आजको खेल दुवै टोलीका लागि अंक तालिकामा सुधार गर्न र आत्मविश्वास फर्काउन निकै महत्वपूर्ण मानिएको छ।
नेपाल आज नामिबियाविरुद्ध अघिल्लो हारको बदला लिँदै लिग-२ मा जितको लय समात्ने लक्ष्यमा हुनेछ।



