काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा औसतभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानकै आसपास रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। रातिको समयमा बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी-नाला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।



