चितवन – वर्षा र पहिरोको जोखिमका कारण राति रोकिएको नारायणगढ-मुग्लिन तथा मुग्लिन-काठमाडौं सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। दुवै सडकखण्डमा हाल पहिरोका कारण कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि सवारीसाधन सञ्चालन सुरु गरिएको हो। रातभर मौसम सामान्य रहेकाले सडकको अवस्था सुरक्षित देखिएपछि सावधानीका साथ यातायात सञ्चालन खुला गरिएको जनाइएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले बाढी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै राति १० बजेदेखि राजमार्गमा सवारी सञ्चालन अस्थायी रूपमा रोक लगाएको थियो। मुग्लिन-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको जवाङ खोला नजिक खसेको सानो पहिरो पनि हटाइसकिएकाले दुवै सडकखण्डमा अहिले सवारी आवागमन सहज रहेको ट्राफिक प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनले पनि सडकमा कुनै अवरोध नरहेको पुष्टि गर्दै सबै सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाउने काम भइरहेको जनाएको छ।
राजमार्ग बन्द हुँदा भरतपुर, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, कुरिनटार तथा पूर्वी नवलपरासीका गैंडाकोट, भेँडाबारी र थुम्सीलगायत स्थानमा रोकिएका सवारीसाधनलाई अहिले प्राथमिकताका साथ सञ्चालन गराइएको छ। ट्राफिक प्रहरीले चालकहरूलाई लेन अनुशासन पालना गर्दै सावधानीपूर्वक सवारी चलाउन र सडक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ।




