मनसुन सक्रिय, आज पनि देशभर वर्षाको सम्भावना, यी क्षेत्रमा अति भारी वर्षाको चेतावनी

काठमाडौं – देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले केही प्रदेशमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गर्दै बाढी, पहिरो र डुबानको जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही माथि नेपालको तराई आसपास र पूर्वतर्फ औसत स्थानकै आसपास रहेको छ। यसको प्रभावले देशभर अधिकांश स्थानमा बदली भएको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका अधिकांश स्थान तथा तराईका धेरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ। यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

आज राति पनि वर्षाको क्रम जारी रहने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा, साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

मौसमविद्हरूले अति भारी वर्षा हुने क्षेत्रका नदी, खोला र पहिरोको जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान र सडक अवरुद्ध हुने जोखिम रहेकाले अत्यावश्यकबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न तथा मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्