काठमाडौं – इंग्ल्यान्डले फ्रान्सलाई रोमाञ्चक खेलमा ६-४ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गरेको छ। अमेरिकाको मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डका बुकायो शाकाले ह्याट्रिक गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले। इंग्ल्यान्डले खेलको तेस्रो मिनेटमै डेक्लान राइसको गोलबाट अग्रता लिएको थियो। त्यसपछि एज्री कोन्शाले १८औँ मिनेटमा हेडरमार्फत गोल थपे। पहिलो हाफको अन्त्यतिर शाकाले दुई गोल गर्दै इंग्ल्यान्डलाई विश्रामअघि नै ४-० को बलियो अग्रता दिलाएका थिए।
दोस्रो हाफमा भने फ्रान्सले उत्कृष्ट पुनरागमन गर्ने प्रयास गर्यो। कप्तान किलियन एमबाप्पेले ४८औँ मिनेटमा पहिलो गोल फर्काए भने ब्राडली बारकोलाले ५४औँ मिनेटमा अर्को गोल थपे। ६६औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४-३ को अवस्थामा ल्याएका थिए।
तर ८७औँ मिनेटमा प्राप्त पेनाल्टीलाई शाकाले गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र इंग्ल्यान्डलाई ५-३ को अग्रता दिलाए। इन्जुरी समयमा उस्मान डेम्बेलेले फ्रान्सका लागि अर्को गोल गरे पनि त्यसको केहीबेरपछि जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डको ६-४ को जित सुनिश्चित गरे। यस जितसँगै सन् १९६६ को विश्वविजेता इंग्ल्यान्डले विश्वकप इतिहासमा लामो समयपछि उल्लेखनीय उपलब्धि हासिल गरेको छ। यसअघि इंग्ल्यान्डले सन् २०१८ मा चौथो स्थानमा चित्त बुझाएको थियो भने यस संस्करणमा तेस्रो स्थान सुरक्षित गर्न सफल भएको छ।



