डडेलधुरा – डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानस्थित धनगढी–दार्चुला सडकखण्डमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्याल गम्भीर घाइते भएका थिए। उनीहरूलाई उद्धार गरी डडेलधुरा अस्पताल पुर्याइए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका छन्।
दुर्घटनामा चालक बैतडीको डिलासैनी गाउँपालिका–२ निवासी २० वर्षीय अमृत घरेडी सामान्य घाइते भएका छन्। त्यस्तै दार्चुलाको मार्मा गाउँपालिका–३ निवासी ५० वर्षीय अम्मरसिंह ठगुन्ना टाउको र छातीमा चोट लागेर उपचाररत छन्।
यसैगरी, थप घाइतेको खोजीका क्रममा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ निवासी ३५ वर्षीया सरस्वती लोथ्याल लाई उद्धार गरिएको थियो। उनको टाउको, कम्मर, छाती तथा दुवै खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



