अविरल वर्षापछि काठमाडौंबाट बाहिरिने सबै प्रमुख नाका बन्द, लामो दूरीका सवारी रोकिए

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न राजमार्गमा पहिरो र बाढीको जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख सडकमार्गमा लामो दूरीका सवारीसाधन सञ्चालन रोकिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा, साँगा र फर्पिङ हुँदै बाहिरिने सबै लामो दूरीका सवारीसाधन बसपार्क तथा अन्य सुरक्षित स्थानमै रोकिएका छन्। यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै हिजो रातिदेखि नै रात्रिकालीन सवारी सञ्चालन बन्द गरिएको थियो भने सोमबार बिहान पनि सवारी सञ्चालन हुन सकेको छैन।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका इन्स्पेक्टर किरण घिमिरेका अनुसार चितवनको केराबारी र तुइनखोलामा पहिरो खसेर मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएकाले नागढुंगा हुँदै सञ्चालन हुने सवारीसाधन रोकिनुपरेको हो। यस्तै, बीपी राजमार्गको रोशी खोलामा पानीको बहाव बढ्नुका साथै मंगलटार क्षेत्रमा लेदोसहितको पहिरो गएपछि उक्त मार्ग हुँदै यात्रा गर्न पनि रोक लगाइएको छ। फर्पिङ–फाखेल–सिन्नेरी हुँदै हेटौंडा जोड्ने सडक तथा कान्तिलोकपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा पहिरो गएपछि ती सडकहरू पनि पूर्ण रूपमा बन्द भएका छन्।

ट्राफिक प्रहरीले सडकको जोखिम विश्लेषण गरेर मात्र सवारी सञ्चालन गर्ने वा नगर्ने निर्णय गरिने जनाएको छ। सुरक्षित यात्रा सुनिश्चित नभएसम्म लामो दूरीका सवारी सञ्चालन नगर्न र यात्रुहरूलाई सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्न आग्रह गरिएको छ। यसअघि नै जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरोको उच्च जोखिम रहेको भन्दै अर्को सूचना जारी नभएसम्म सवारी आवागमन स्थगित गर्ने निर्णय गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्