काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयासका क्रममा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। उनको थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी पनि सुरु गरिएको छ।
वीर अस्पतालमा उपचाररत २५ वर्षीय नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार अस्पताल पुगेका थिए। उनीहरूले उपचारमा संलग्न चिकित्सकसँग घाइतेको स्वास्थ्य अवस्था र उपचारको प्रगतिबारे जानकारी लिँदै उपचार प्रक्रियालाई तीव्र बनाउन आवश्यक निर्देशन दिएका थिए।
चिकित्सकको परामर्श तथा घाइतेको गम्भीर अवस्थालाई ध्यानमा राख्दै उनलाई तत्काल भारत पठाउन आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी अघि बढाइएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा उपचारका लागि भारत लैजाने प्रक्रिया अगाडि बढाइएको सरकारी स्रोतले जनाएको छ।
गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको प्रवेशद्वार अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घटनापछि उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको सघन उपचार भइरहेको छ।




