काठमाडौं – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सरकारले गैरन्यायिक ढङ्गले पक्राउ गरेको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने जनाएको छ।
पार्टी मुख्यालय च्यासलमा मंगलबार बसेको संसदीय दलको बैठकले सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिनुभयो।
महरले सरकारले संविधान, लोकतन्त्र तथा राष्ट्रिय हितविरुद्ध काम गरिरहेको आरोप लगाउँदै सरकार विधिको शासन र कानुनी राज्यको मर्मविपरीत अघि बढिरहेको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, “सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिरहेको छ। सरकार अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख छ। सरकार विधिको शासन र कानुनी राज्यको बर्खिलापमा छ। सरकार संविधान, लोकतन्त्र र राष्ट्रकै विरुद्धमा रहेको छ।”
एमालेले सरकारको कार्यशैलीका कारण विधिको शासन कमजोर बन्दै गएको तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पनि प्रभावित भएको दाबी गरेको छ।
पार्टीले विष्णु पौडेलको पक्राउलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदमको संज्ञा दिँदै यस विषयमा संसदभित्र र बाहिर सशक्त रूपमा आवाज उठाउने जनाएको छ।





