काठमाडौँ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना तथा दुई विदेशी कम्पनीविरुद्ध १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विभागका निर्देशक सुनिलकुमार केसी, तत्कालीन निर्देशक शत्रुध्वनप्रसाद शर्मा पोखरेल, रविन्द्र राजभण्डारी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा तथा परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिवहरू राजाराम दाहाल, भेषप्रसाद भुर्तेल र पुष्करराज नेपालविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
आयोगका अनुसार राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा प्रचलित कानुनविपरीत प्राविधिक तथा वित्तीय मूल्याङ्कन गरी गलत सिफारिस र निर्णयका आधारमा सम्झौता गरिएको, साथै आंशिक भुक्तानीसमेत गरी भ्रष्टाचार भएको ठहर गरिएको छ।
यसै प्रकरणमा मूहलबाउर आइडी सर्भिसेस (GmbH) तथा त्यससँग सम्बद्ध जरहार्ड माउरर, प्याभल रेकिइ र मणिन्द्रराज मल्लविरुद्ध १ अर्ब ९० करोड ६९ लाख ५७ हजार ३२ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
त्यस्तै भेरिडोस जीएमबीएच तथा त्यससँग सम्बद्ध फेबिओला बेलरशेम, फ्लोरियन प्याक्लिन र सिद्धार्थ थापाविरुद्ध ८ अर्ब २२ करोड ३५ लाख ४ हजार ४४४ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम बिगो कायम गरी कैद र बिगो बराबरको जरिवाना मागदाबी गर्दै आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।





