रास्वपाको बन्द सत्र आजदेखि, सभापति र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता हुँदै

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ। आइतबार भरतपुरस्थित गेस्ट हाउस चौरमा उद्घाटन गरिएको महाधिवेशनको बन्द सत्र चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ। बन्द सत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन तथा अन्य नीतिगत प्रस्तावहरूमाथि छलफल हुने जनाइएको छ। महाधिवेशनसँगै पार्टीले निर्वाचन प्रक्रियालाई पनि समानान्तर रूपमा अघि बढाएको छ। निर्वाचन कार्यतालिका संशोधन गरेपछि निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ भने मधेस प्रदेशका प्रतिनिधिहरूको सूची पनि सार्वजनिक गरिएको छ।

निर्वाचन कार्यालयले आज बिहान १० बजे महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्नेछ। त्यसपछि दिउँसो १ बजेदेखि सभापति र केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी फाराम वितरण सुरु हुनेछ। उम्मेदवारी दर्ताको समय दिउँसो २ बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ। उम्मेदवारहरूको प्रारम्भिक नामावली आज साँझ ८ बजे सार्वजनिक गरिनेछ। त्यसपछि दाबी–विरोधका लागि एक घण्टाको समय दिइनेछ भने राति ७ बजेदेखि ९ बजेसम्म प्राप्त उजुरीमाथि छानबिन गरिने निर्वाचन कार्यक्रम रहेको छ।

उम्मेदवारहरूले राति ९ बजेर १५ मिनेटसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्। अन्तिम उम्मेदवार सूची राति ११ बजे सार्वजनिक गरिने जनाइएको छ। निर्वाचन कार्यतालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि ८ः३० बजेसम्म मौन अवधि रहनेछ। त्यसपछि बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ।

पहिलो चरणको मतदान सम्पन्न भएपछि पार्टी पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु गरिनेछ। दोस्रो चरणको विस्तृत कार्यतालिका भने पछि सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ। रास्वपाको पहिलो महाधिवेशनबाट १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति चयन हुने भएकाले महाधिवेशनलाई पार्टीको भावी नेतृत्व र संगठनात्मक दिशाका लागि निर्णायक रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्