काठमाडौं । नेपालमा अहिले पश्चिमी, स्थानीय तथा मनसुनी वायुको संयुक्त प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही क्षेत्रमा मनसुनी वायु सक्रिय रहँदा देशका अन्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ।
हाल कोशी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ। मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लागेको छ भने लुम्बिनी र कर्णाली प्रदेशका तराई क्षेत्रको मौसम मुख्यतः सफा रहेको छ। यतिबेला कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्ले जनाएका छन्।
महाशाखाका अनुसार आज दिउँसो र राति कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहने सम्भावना छ। मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने अनुमान गरिएको छ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।
कोशी प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्को भनाइ छ।
तराई क्षेत्रमा भने कोशी प्रदेशका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यता, वर्षासँगै गर्मीको प्रभाव पनि कायम रहने देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (लु) चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि अत्यधिक गर्मीका कारण ‘तातो दिन’को अवस्था सिर्जना हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद्हरूले वर्षा हुने क्षेत्रका बासिन्दालाई चट्याङ तथा पहिरोको जोखिमप्रति सजग रहन र तातो लहर प्रभावित क्षेत्रमा पर्याप्त पानी पिउन, घामबाट बच्न तथा आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन्।





