काठमाडौं – काठमाडौंको गोठाटारस्थित अर्किड प्युपल सेकेन्डरी स्कुल का विद्यार्थीहरूले डीन (DEAAN) शैक्षिक संस्थाद्वारा आयोजित अन्तरविद्यालयस्तरीय हस्तलेखन, चित्रकला तथा पेन्टिङ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न विधामा उल्लेखनीय सफलता हासिल गरेका छन्। प्रतियोगितामा विद्यालयका तर्फबाट सहभागी चार जना विद्यार्थीमध्ये रोनिस गोलेले चित्रकला तथा पेन्टिङतर्फ प्रथम स्थान हासिल गर्दै विद्यालयको शान बढाएका छन्। त्यस्तै सुप्रिया शिवाकोटीले प्राथमिक तहअन्तर्गत हस्तलेखन प्रतियोगितामा तृतीय स्थान प्राप्त गरेकी छन् भने स्यामी सिंहले निम्न माध्यमिक तहको हस्तलेखन प्रतियोगितामा चौथो स्थान हासिल गर्न सफल भएका छन्।
विद्यार्थीहरूको यस उल्लेखनीय सफलताप्रति विद्यालय परिवारले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। विद्यालयले विद्यार्थीहरूको लगनशीलता, अनुशासन, सिर्जनशीलता र निरन्तर परिश्रमको प्रतिफलस्वरूप यस्तो सफलता प्राप्त भएको जनाएको छ। विद्यालयका सञ्चालक प्रेमकुमार भुजेल ले विद्यार्थीहरूको उपलब्धिले सम्पूर्ण विद्यालय परिवारलाई गौरवान्वित बनाएको बताउँदै यस्ता प्रतियोगिताले विद्यार्थीभित्र लुकेका प्रतिभा, सिर्जनशीलता तथा आत्मविश्वास उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उल्लेख गरे। उनले आगामी दिनमा पनि विद्यालयले विद्यार्थीको चौतर्फी विकासलाई केन्द्रमा राखेर यस्ता सिर्जनात्मक गतिविधिमा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक चोलेन्द्र बहादुर कार्की ले शैक्षिक उपलब्धिसँगै सिर्जनात्मक क्षमता विकास पनि विद्यालय शिक्षाको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै विद्यार्थीहरूले अनुशासन, मेहनत र आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेको बताए। उनले यस्ता उपलब्धिले अन्य विद्यार्थीहरूलाई समेत प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे। विद्यालय संयोजक नरेन्द्र पाण्डेय ले यस्ता प्रतियोगिताले विद्यार्थीलाई सिकाइसँगै व्यवहारिक अनुभव, नेतृत्व क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने बताए। विद्यालयले भविष्यमा पनि विद्यार्थीहरूको प्रतिभा पहिचान, प्रोत्साहन तथा विकासलाई उच्च प्राथमिकता दिने उनको भनाइ छ।
विद्यालयले प्रतियोगितामा सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई पुनः बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गरेको छ। साथै विद्यार्थीहरूको चौतर्फी विकासका लागि प्रभावकारी तथा सिर्जनात्मक प्रतियोगिता आयोजना गरेकोमा डीन (DEAAN) परिवारप्रति विशेष आभार व्यक्त गरेको छ। यस उपलब्धिसँगै अर्किड प्युपल सेकेन्डरी स्कुलले शैक्षिक क्षेत्रसँगै कला, सिर्जनशीलता तथा अतिरिक्त क्रियाकलापमा समेत आफ्ना विद्यार्थीहरूको उत्कृष्ट क्षमता प्रदर्शन गर्न सफल भएको विद्यालयले जनाएको छ।





