३७ वर्ष ९ महिना २९ दिन शिक्षामा समर्पित जीवन: प्रअ गजेन्द्रराज मिश्रको सम्मानपूर्वक अवकाश

जीवनका अमूल्य ३७ वर्ष ९ महिना २९ दिन शिक्षाको ज्योति फैलाउन समर्पित गर्नुभएका दार्चुलाको लेकम गाउँपालिका–६ मेल्लाउँ स्थायी घर गजेन्द्र राज मिश्रले अनिवार्य अवकाश प्राप्त गर्नुभएको छ। मिति २०८२ साल चैत २७ गतेदेखि लागू हुने गरी सेवा निवृत्तिभरण अधिकारपत्र प्राप्त गर्दै उहाँले आफ्नो लामो शैक्षिक यात्राको औपचारिक समापन गर्नुभएको हो। प्राथमिक शिक्षक तृतीय श्रेणीबाट सुरु गर्नुभएको यात्रा २०६८ सालमा प्राशि द्वितीय हुदैँ अघि बढेको थियो ।

२०२२ साल चैत २७ गते साविकको रिठाचौपाता गाविस वडा नम्बर ५ तथा हालको लेकम गाउँपालिका ६ मेल्लाउँमा जन्मिनुभएका मिश्रले २०४५ साल जेठ २७ गते श्री मालिकार्जुन आधारभूत विद्यालय, परिबन (मार्मा) बाट अस्थायी शिक्षकका रूपमा शिक्षण सेवामा प्रवेश गर्नुभएको थियो। दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षाको उज्यालो प्रदान गर्ने दृढ संकल्पका साथ सुरु भएको उहाँको यात्रा चार दशक नजिक पुगेर सम्मानजनक अवकाशमा टुंगिएको छ।

शिक्षण पेशामा प्रवेश गरेपछि मिश्रले आफ्नो जिम्मेवारीलाई केवल जागिरको रूपमा होइन, समाज परिवर्तनको अभियानका रूपमा लिनुभयो। प्रारम्भिक चरणमा मालिकार्जुन आधारभूत विद्यालय, परिबन (मार्मा) मा सेवा गर्नुभएका उहाँले २०४८ साल मंसिर २२ गते स्थायी नियुक्ति प्राप्त गर्नुभयो। स्थायी नियुक्तिपछि उहाँले श्री भैरवनाथ आधारभूत विद्यालय, श्रीपुरमा सेवा प्रारम्भ गर्नुभयो। त्यसपछि क्रमशः मालिकार्जुन माध्यमिक विद्यालय, तेलिगाउँ, मसिना आधारभूत विद्यालय, मालिकार्जुन आधारभूत विद्यालय, उचाकोट तथा अन्तिम चरणमा हुनेैनाथ आधारभूत विद्यालय, लेकम गाउँपालिका–६, सिरोडामा कार्यरत रहनुभयो।

यी विद्यालयहरूमा उहाँले केवल शिक्षकको भूमिका मात्र निर्वाह गर्नुभएन, आवश्यकता अनुसार विद्यालय नेतृत्वको जिम्मेवारी पनि सफलतापूर्वक सम्हाल्नुभयो। प्रधानाध्यापकका रूपमा विद्यालय व्यवस्थापन, शैक्षिक गुणस्तर सुधार, शिक्षक-अभिभावक समन्वय तथा विद्यार्थीको समग्र विकासमा उहाँको योगदान उल्लेखनीय मानिन्छ।

लामो शिक्षण सेवाका क्रममा मिश्रमाथि कुनै प्रकारको विवाद, अनुशासनहीनता वा पेशागत दाग लागेको इतिहास छैन। सहकर्मी, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायले उहाँलाई इमानदार, कर्तव्यनिष्ठ र अनुशासित शिक्षकका रूपमा चिन्ने गरेका छन्। विद्यालयमा उहाँको उपस्थितिले शिक्षण सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव परेको सहकर्मीहरू बताउँछन्। दुर्गम गाउँका विद्यार्थीहरूलाई शिक्षाको पहुँच विस्तार गर्न तथा विद्यालयप्रति समुदायको विश्वास अभिवृद्धि गर्न उहाँले खेलेको भूमिका स्मरणीय रहेको स्थानीयवासीहरूको भनाइ छ।

शिक्षक पेशा केवल रोजगार नभई राष्ट्र निर्माणको आधार भएको विश्वास राख्ने मिश्रले आफ्नो सम्पूर्ण सेवा अवधिलाई शिक्षामार्फत समाज निर्माणमा समर्पित गर्नुभयो।  उहाँले आफ्नो सेवाकालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै सहकर्मी, विद्यार्थी, अभिभावक, शुभेच्छुक तथा स्थानीय समुदायप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। उहाँका दुई छोरा, तीन छोरी र श्रीमतीसहितको परिवार रहेको छ ।

अब समाजसेवामा सक्रिय हुने तयारी तथा राजनीतिमा आउने सम्भावना पनि खुला

अवकाशपछि आरामदायी जीवन बिताउने भन्दा पनि समाजसेवालाई निरन्तरता दिने सोच रहेको मिश्र बताउनुहुन्छ। शिक्षण सेवाबाट अवकाश लिए पनि समाजप्रतिको आफ्नो दायित्व समाप्त नभएको उहाँको धारणा छ।  उहाँका अनुसार आगामी दिनमा शिक्षा, सामाजिक जागरण तथा स्थानीय विकासका क्षेत्रमा सक्रिय रहने योजना छ।

“शिक्षण सेवाबाट अवकाश लिएको हुँ, समाजसेवाबाट होइन। अब बाँकी जीवन समाजको हित र विकासका लागि समर्पित गर्ने सोच बनाएको छु,” उहाँले बताउनुभयो।

समाजसेवासँगै भविष्यमा आवश्यक परे राजनीतिमा समेत सक्रिय हुन सक्ने संकेत मिश्रले गर्नुभएको छ। युवाहरूको समर्थन र जनताको चाहना भएमा राजनीतिक भूमिकामा पनि आफूलाई प्रस्तुत गर्न तयार रहेको उहाँको भनाइ छ। “जनताले चाहे, युवाहरूको साथ र समर्थन रह्यो भने राजनीतिमा समेत आउन सक्छु। राजनीतिलाई मैले सेवा गर्ने अर्को माध्यमका रूपमा हेरेको छु,” उहाँले भन्नुभयो।

सम्मानित अवकाश, प्रेरणादायी विरासत

३७ वर्षभन्दा बढी समय शिक्षाको क्षेत्रमा बिताएका गजेन्द्र राज मिश्रको अवकाश केवल एक कर्मचारीको सेवा समाप्ति होइन, दुर्गम क्षेत्रमा शिक्षाको दीप प्रज्वलित गर्ने एक समर्पित शिक्षकको गौरवपूर्ण यात्राको अध्याय हो।

उहाँले निर्माण गरेको शैक्षिक विरासत, अनुशासन, इमानदारी र समाजप्रतिको समर्पण आगामी पुस्ताका शिक्षक तथा विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेर रहने विश्वास गरिएको छ। शिक्षकका रूपमा सुरु भएको उहाँको यात्रा आज सम्मानित अवकाशमा पुगेर टुंगिएको छ, तर शिक्षा, समाजसेवा र जनहितप्रतिको उहाँको समर्पण भने अझै जारी रहने संकेत देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्