चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी एकतालाई केन्द्रमा राख्दै नेतृत्व चयनमा सहमतिको बाटो रोज्ने संकेत गरेको छ। आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने प्रथम महाधिवेशनअघि पार्टीभित्र विभिन्न समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई प्राथमिकता दिइएको नेताहरूले बताएका छन्। विवेकशील साझा, बालेन्द्र शाह समूह, थारुवान/थरुहट आन्दोलन, जेनजी समूहलगायत विभिन्न धार र समूहहरूको एकीकरणपछि बनेको रास्वपाले महाधिवेशनलाई ‘एकता महाधिवेशन’ का रूपमा व्याख्या गरेको छ। यही कारण नेतृत्व चयनमा प्रतिस्पर्धाभन्दा सहमतिलाई प्राथमिकता दिइएको जनाइएको छ।
बिहीबार बसेको सचिवालय बैठकमा सभापति रवि लामिछानेले पार्टीले अझै धेरै काम गर्न बाँकी रहेकाले सकेसम्म सहमतिमार्फत नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका थिए। सचिवालय सदस्य गणेश पराजुलीका अनुसार सहमतिमै नेतृत्व चयन गर्ने प्रयासको जिम्मेवारी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई दिइएको छ। रास्वपाले महाधिवेशनका लागि १५८ सदस्यीय केन्द्रीय समिति प्रस्ताव अनुमोदन गरिसकेको छ। सात प्रदेशका पदेन सदस्यसहितको केन्द्रीय समितिमा १०० जना निर्वाचनमार्फत चयन हुनेछन् भने ५१ जना सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। समावेशी प्रतिनिधित्व र एकता प्रक्रियाबाट आएका व्यक्तिहरूको व्यवस्थापनका लागि मनोनयनको व्यवस्था गरिएको पार्टीको भनाइ छ।
पार्टीको नयाँ संरचनाअनुसार १९ सदस्यीय पदाधिकारी रहनेछन्। जसमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३, महामन्त्री २, सहमहामन्त्री ५, प्रवक्ता १, सहप्रवक्ता ३, कोषाध्यक्ष १ र सहकोषाध्यक्ष १ रहने व्यवस्था गरिएको छ। साथै ३३ सदस्यीय सचिवालय गठन गर्ने प्रस्ताव पनि पारित गरिएको छ। महामन्त्री भूपदेव शाहले विभिन्न समूह र धारको प्रतिनिधित्व सुनिश्चित गर्न सहमतिमार्फत नेतृत्व चयन गरिने बताएका छन्। उनले पदाधिकारी मनोनयनको विषयमा भने अन्तिम निर्णय केन्द्रीय समितिले गर्ने जानकारी दिएका छन्।
महाधिवेशनबाट सभापतिमा रवि लामिछाने पुनः निर्वाचित हुने लगभग निश्चित मानिएको छ भने वरिष्ठ नेतामा बालेन्द्र शाह रहने सम्भावना बलियो देखिएको छ। उपसभापति, महामन्त्री तथा अन्य पदाधिकारीमा भने आकांक्षीहरूको संख्या धेरै रहेको छ। उपसभापतिका लागि डा. स्वर्णिम वाग्ले, गणेश पराजुली, सुनिल लम्साल, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, मनिष झा र हरि ढकाल चर्चामा छन्। महिला उपसभापतिका लागि समीक्षा बास्कोटा, प्रतिभा रावल, सोबिता गौतम, लिमा अधिकारी, डा. तोसिमा कार्की र कुशुम श्रेष्ठको नाम अगाडि आएको छ।
महामन्त्री पदमा वर्तमान महामन्त्रीहरू कवीन्द्र बुर्लाकोटी र भूपदेव शाह दोहोरिने सम्भावना बलियो देखिएको छ। यद्यपि उपसभापतिमा अवसर नपाए गणेश पराजुलीले महामन्त्रीमा दाबी गर्न सक्ने चर्चा पनि पार्टीभित्र छ। रास्वपाले महाधिवेशनअघि शनिबार केन्द्रीय समितिको बैठक बोलाएको छ। उक्त बैठकले महाधिवेशन कार्यविधि, विधान मस्यौदा तथा व्यवस्थापनसम्बन्धी अन्तिम निर्णय गर्नेछ।
महाधिवेशनको पहिलो चरणमा सभापति र १०० केन्द्रीय सदस्यको निर्वाचन हुनेछ भने दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरूबाट बाँकी पदाधिकारी चयन गरिने कार्यतालिका तय गरिएको छ। पार्टी नेतृत्वले भने सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गरी महाधिवेशनलाई एकताको सन्देश दिने प्रयास गरिरहेको जनाएको छ।





