इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता लागू

बेरुत । इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता लागू भएको छ। लेबननस्थित इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह र इजरायलबीच शुक्रबारदेखि युद्धविराम लागू भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। लेबननको स्थानीय समयअनुसार शुक्रबार अपराह्न ४ बजेदेखि युद्धविराम प्रभावमा आएको हो। दुवै पक्षले आगामी जुन २३ देखि २५ सम्म अमेरिकाको राजधानी वाशिङ्टनमा इजरायल–लेबनन वार्ताको अर्को चरण सञ्चालन गर्ने विषयमा समेत छलफल गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबिसी न्युजसँगको कुराकानीमा इजरायललाई युद्धविराम सम्झौतामा सहमत हुन आग्रह गरेको बताएका छन्। अमेरिकी र कतारी मध्यस्थकर्ताहरूले इरानको सहयोगमा उक्त युद्धविराम सम्झौता तयार पारेका थिए। अन्तरिम सहमतिअनुसार अमेरिका, इरान तथा उनीहरूका सहयोगी पक्षहरूले लेबनानसहितका सबै मोर्चामा सैन्य गतिविधि स्थायी रूपमा अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।

इरानी विदेशमन्त्री अब्बास अराघ्चीले पाकिस्तानी समकक्षीसँगको टेलिफोन संवादमा लेबननमा युद्ध अन्त्यसम्बन्धी सम्झौताका प्रतिबद्धता उल्लंघन भए त्यसको जिम्मेवारी अमेरिका माथि पर्ने बताएका छन्। युद्धविरामसँगै मध्यपूर्वमा दीर्घकालीन शान्ति स्थापनाको प्रयासले गति लिने अपेक्षा गरिएको छ। इरानले अमेरिकासँग अन्तिम सम्झौतामा पुग्नुअघि लेबननमा इजरायली आक्रमण रोक्नुपर्ने अडान राख्दै आएको थियो। यद्यपि इजरायलले यसअघि लेबननलाई युद्धविरामको दायराभन्दा बाहिर रहेको बताउँदै हिजबुल्लाह लक्षित आक्रमण जारी राखेको थियो। रोयटर्सका अनुसार शुक्रबार युद्धविराम घोषणा भएको एक घण्टासम्म पनि केही स्थानमा आक्रमण जारी रहेको थियो।

लेबननमा आक्रमण नरोकिएको भन्दै शुक्रबार स्विट्जरल्याण्डमा हुने भनिएको इरान–अमेरिका वार्ता पनि स्थगित गरिएको थियो। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अन्तिम समयमा भ्रमण रद्द गरेपछि स्वीस विदेश मन्त्रालयले वार्ता स्थगन गरेको जनाएको छ। युद्धविराम लागू भएसँगै अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा पुनः वार्ताको तयारी भइरहेको छ। अमेरिकी सञ्चारमाध्यम एक्सियसका अनुसार राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकोफ वार्ताका लागि स्विट्जरल्याण्ड जाने तयारीमा छन्।

हिजबुल्लाहले मार्च २ मा इजरायलमाथि आक्रमण गरेपछि लेबनन क्षेत्रीय द्वन्द्वमा तानिएको थियो। त्यसको प्रत्युत्तरमा इजरायलले व्यापक सैन्य अभियान सञ्चालन गर्दै दक्षिणी लेबननमा प्रवेश गरेको थियो। त्यसपछि अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई आक्रमण सुरु गरेपछि द्वन्द्व थप चर्किएको थियो। विभिन्न अन्तर्राष्ट्रिय स्रोतका अनुसार उक्त युद्धमा हालसम्म करिब सात हजार मानिसको ज्यान गएको अनुमान गरिएको छ, जसमा अधिकांश मृत्यु इरान र लेबननमा भएका छन्।

युद्धका कारण विश्व ऊर्जा बजारमा दबाब बढ्नुका साथै मुद्रास्फीतिमा समेत असर परेको थियो। तर लेबननमा युद्धविराम लागू भएसँगै अन्तर्राष्ट्रिय तेल बजार केही स्थिर हुन थालेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य शुक्रबार सामान्य बढे पनि साप्ताहिक रूपमा करिब ८ प्रतिशतले घट्ने दिशामा रहेको जनाइएको छ।

युद्धका क्रममा अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमार्फत तेल ढुवानी पनि पुनः बढ्न थालेको छ। विश्वको करिब पाँचौँ हिस्सा कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही सामुद्रिक मार्गबाट ढुवानी हुने गरेको छ।

सम्झौताअनुसार इरानमाथि लगाइएका केही आर्थिक प्रतिबन्ध क्रमशः खुकुलो बनाइने, रोक्का गरिएका अर्बौँ डलर बराबरका सम्पत्ति फुकुवा गरिने तथा इरानी तेल निर्यातमा अमेरिकी छुट उपलब्ध गराइने व्यवस्था गरिएको छ। साथै इरानको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलरको विशेष कोष स्थापना गर्ने प्रस्ताव पनि सम्झौतामा समावेश गरिएको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्