राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि काठमाडौँमा सुरु हुँदै

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ। पार्टीभित्रको आन्तरिक विवादका बीच धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बिहान साढे ११ बजेदेखि बैठक बस्न लागेको हो। बैठकअघि नै अध्यक्ष राजेन्द्र लिङ्देन र असन्तुष्ट पक्षबीच मतभेद चर्किएको छ। अध्यक्ष लिङ्देनले विधानविपरीत ‘अनधिकृत’ व्यक्तिहरूलाई बैठकमा सहभागी गराउन खोजेको आरोप लगाउँदै पार्टीभित्रको एक समूहले बैठक बहिष्कार गर्ने संकेत दिएको छ।

विवादको मुख्य कारण गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका सबै व्यक्तिलाई बैठकमा आमन्त्रित गर्ने तयारी र एकता प्रक्रियाबाट आएका कमल थापा पक्षका ६५ जनालाई पनि सहभागी गराउने निर्णय रहेको बताइएको छ। असन्तुष्ट नेताहरूले केन्द्रीय सदस्यबाहेक अन्य व्यक्तिलाई बैठकमा सहभागी गराउनु पार्टीको विधि, पद्धति र संगठनात्मक मर्यादाविपरीत भएको बताएका छन्। बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, सदस्य अर्जुन राई तथा पूर्वअध्यक्षहरू कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले यस विषयमा अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएका थिए। उनीहरूले केन्द्रीय सदस्यबाहेक अन्यलाई बैठकमा प्रवेश नदिन आग्रह गरेका थिए।

केन्द्रीय सदस्य जनकराज पाठकले आफू लगायत विधिको पक्षमा रहेका केही नेताहरू बैठकमा सहभागी नहुने जानकारी दिएका छन्। उनका अनुसार केन्द्रीय समितिको बैठकमा अनधिकृत व्यक्तिहरूलाई सहभागी गराउने प्रयास भएकाले बैठक बहिष्कार गर्ने अवस्था सिर्जना भएको हो। पार्टीभित्रका केही नेताहरूले अध्यक्ष लिङ्देनले केन्द्रीय समितिमा हुन सक्ने आलोचनाबाट जोगिन आफ्ना समर्थक तथा निर्वाचनमा पराजित उम्मेदवारहरूलाई बैठकमा सहभागी गराउन खोजेको आरोप लगाएका छन्।

यद्यपि बिहीबारको कार्यसम्पादन समिति बैठकले राप्रपाको आगामी महाधिवेशनको कार्यतालिका भने पारित गरेको छ। निर्णयअनुसार पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा आयोजना हुनेछ। साथै निर्वाचन समितिले तयार पारेको नियमावली र निर्देशिकालाई पनि परिमार्जनसहित स्वीकृत गरिएको अध्यक्ष लिङ्देनले जानकारी दिएका छन्।

महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच बस्न लागेको यो बैठकलाई राप्रपाको आगामी संगठनात्मक दिशा तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्