राहदानी प्रकरणमा बयान दिन बोलाइएकी आरजु राणाले अख्तियारलाई इमेलमार्फत दिइन् जवाफ

काठमाडौं- राहदानी छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा बयानका लागि बोलाइएकी नेपाली कांग्रेस नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफू तत्काल उपस्थित हुन नसक्ने जानकारी गराएकी छन्। अख्तियारले असार २ गते आरजुको निवासमा म्याद तामेल गर्दै तीन दिनभित्र आयोगको टंगालस्थित मुख्यालयमा उपस्थित भएर बयान दिन निर्देशन दिएको थियो। तर उनले आयोगलाई इमेल पठाउँदै आफू हाल विदेशमा रहेको र तोकिएको अवधिभित्र उपस्थित हुन नसक्ने जानकारी गराएकी हुन्।

अख्तियारका एक उच्च अधिकारीका अनुसार आरजुले पठाएको इमेलमा आफू विदेशमा रहेको उल्लेख गरे पनि कुन देशमा रहेको भन्ने विवरण खुलाएकी छैनन्। उनी हाल हङकङमा रहेको बताइएको छ। अख्तियारले राहदानी छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे अनुसन्धान अघि बढाउँदै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, जर्मन कम्पनी मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल तथा विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

आयोगको प्रारम्भिक अनुसन्धानअनुसार राहदानी खरिद प्रक्रियामा विभिन्न पक्षको मिलेमतोमा करिब ८ अर्ब रुपैयाँ बराबरको अनियमितता भएको आशंका गरिएको छ। सोही अनुसन्धानको सिलसिलामा आरजु राणा देउवालाई समेत बयानका लागि बोलाइएको हो। अख्तियारले तोकिएको समयभित्र उपस्थित नभए कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी म्यादपत्रमै उल्लेख गरेको छ। आयोगले यस प्रकरणमा थप अनुसन्धान जारी रहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्