सुदूरपश्चिम प्रदेशको बजेट ३७ अर्ब ७० करोड, मध्यरातमा प्रदेश सभामा प्रस्तुत

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सोमबार मध्यराति प्रदेश सभामा आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो।

सत्ता साझेदार दलहरूबीच बजेटका विषयमा दिनभर सहमति जुट्न नसक्दा अन्योल सिर्जना भए पनि अन्ततः राति सहमति भएपछि बजेट प्रदेश सभामा पेश गरिएको थियो।

प्रदेश सरकारले ल्याएको बजेट चालु आर्थिक वर्ष २०८२/८३ को ३३ अर्ब ४७ करोड ६० लाख रुपैयाँको तुलनामा करिब ४ अर्ब २० करोड रुपैयाँले बढी हो।

आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले विभिन्न स्रोतबाट राजस्व संकलन तथा अनुदान प्राप्त गर्ने अनुमान गरेको छ। बजेटका लागि आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रुपैयाँ तथा संघीय रोयल्टीबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै, नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानमार्फत पनि ठूलो रकम प्राप्त हुने अपेक्षा गरिएको छ। चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने रकमसमेत आगामी बजेटको स्रोतका रूपमा समावेश गरिएको छ।

यद्यपि, आर्थिक मामिलामन्त्री धामीले बजेट प्रस्तुत गर्दै चालु खर्च र पुँजीगत खर्चतर्फ छुट्याइएको रकमबारे भने स्पष्ट विवरण दिनुभएन।

प्रतिपक्षी दलका सांसदहरूले बैठक बहिष्कार गरेका बेला सरकारले बजेट प्रस्तुत गरेको हो। संवैधानिक व्यवस्था अनुसार असार १ गतेभित्र बजेट ल्याउनुपर्ने प्रावधान रहेकाले सुदूरपश्चिमसहित सबै सात प्रदेश सरकारले आइतबार आफ्नो आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्