धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आज बस्ने तय भएको बैठक विशेष कारण देखाउँदै स्थगित गरी राति ९ बजेका लागि सारिएको छ। प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार आठौँ अधिवेशनअन्तर्गत सोमबार अपराह्न ५ बजे बस्ने तय भएको १३औँ बैठकको समय परिवर्तन गरिएको हो। प्रदेश सभा सचिवले जारी गरेको सूचनामा विशेष कारणवश बैठक स्थगित गरी आजै राति ९ बजे बस्ने गरी समय निर्धारण गरिएको उल्लेख गरिएको छ।
सचिवालयले सम्पूर्ण प्रदेश सभा सदस्यहरूलाई निर्धारित समयमा उपस्थित हुन अनुरोध गरेको छ। स्रोतका अनुसार आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् बैठकसमेत समयमै बस्न सकेको छैन। बजेटका विभिन्न विषयमा दुई दलबीच मतभेद देखिएपछि बजेटलाई अन्तिम रूप दिन ढिलाइ भएको बताइएको छ।
मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि मात्रै प्रदेश सभामा पेश गर्नुपर्ने भएकाले क्याबिनेट बैठक लम्बिँदा प्रदेश सभा बैठकको समय पनि रातिसम्म धकेलिएको हो। प्रदेश सरकारले आजै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। बजेट प्रस्तुतिको अन्तिम गृहकार्य जारी रहेकाले राजनीतिक सहमति जुटाउने प्रयाससमेत तीव्र बनाइएको जनाइएको छ।





