हेटौँडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ६६ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार प्रदेश सरकारले आज प्रदेशसभामा करिब ६६ अर्ब रुपैयाँको वार्षिक बजेट प्रस्तुत गर्न लागेको हो।
बजेट प्रस्तुत गर्नुअघि बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै बजेट प्रदेशसभामा पेश गर्ने अनुमति दिएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।प्रदेश सरकारका अनुसार सडक, पुल, खानेपानी, सिँचाइ तथा अन्य विकास निर्माणका आयोजनामा बजेट केन्द्रित गरिनेछ। साथै शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी प्रवर्द्धनका कार्यक्रमलाई समेत बजेटमा समेटिएको बताइएको छ।
मन्त्रिपरिषद्को स्वीकृतिपछि प्रदेशसभाको बैठकमार्फत आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। उल्लेखनीय छ, बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षका लागि भने बजेटको आकार केही घटाएर करिब ६६ अर्ब रुपैयाँको हाराहारीमा सीमित गरिएको छ।





