काठमाडौँ, जेठ ३१ गते । अमेरिका र इरानबीच लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। दुवै देशका अधिकारीहरू प्रारम्भिक शान्ति सम्झौतामा पुगेको जनाइएको छ, जसअनुसार इरानमाथि लगाइएका केही प्रतिबन्ध हटाउने तथा विश्व व्यापारका लागि महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने सहमति भएको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानसँगको सम्झौता सम्पन्न भएको दाबी गर्नुभएको छ। पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको र आगामी शुक्रबार स्विट्जरल्यान्डमा सम्झौतामा औपचारिक हस्ताक्षर हुने तयारी रहेको जानकारी दिएको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफका अनुसार प्रस्तावित सम्झौताले लेबनानसहित विभिन्न क्षेत्रमा जारी सैन्य कारबाही तत्काल र स्थायी रूपमा रोक्ने लक्ष्य राखेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि सोमबार रातिदेखि युद्ध तथा सैन्य गतिविधि अन्त्य हुने जनाएको छ। यद्यपि, इजरायलले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
सम्झौतापछि स्ट्रेट अफ होर्मुज पुनः खुला हुने र इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाइने घोषणा गरिएको छ। यससँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। सोमबारको प्रारम्भिक कारोबारमा ब्रेन्ट क्रुडको मूल्य करिब ४ प्रतिशत र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) ४.६ प्रतिशतभन्दा बढीले घटेको छ। एसियाली सेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको छ।
यद्यपि, इरानको परमाणु कार्यक्रमको भविष्य भने अझै टुंगिएको छैन। आगामी चरणका वार्तामा उच्च संवर्द्धित युरेनियमको व्यवस्थापन, परमाणु गतिविधिको सीमांकन तथा प्रतिबन्ध फुकुवाका विषयमा थप छलफल हुने बताइएको छ।
इरानका उपविदेशमन्त्री काजेम गरिबाबाडीले ६० दिने युद्धविराम अवधिभित्र थप विस्तृत समझदारीका लागि वार्ता जारी रहने जानकारी दिनुभएको छ। अमेरिकी पक्षले अन्ततः इरानको परमाणु कार्यक्रम नियन्त्रण तथा संवर्द्धित युरेनियम नष्ट गर्ने लक्ष्य रहेको जनाएको छ भने इरानले आफ्नै भूमिमा युरेनियमको गाढापन घटाउने विकल्पमा जोड दिएको छ।
फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इरान तनावले मध्यपूर्वमा व्यापक मानवीय तथा आर्थिक क्षति पुर्याएको थियो। प्रस्तावित शान्ति सम्झौता कार्यान्वयन भएमा मध्यपूर्वको सुरक्षा अवस्था, अन्तर्राष्ट्रिय व्यापार तथा विश्व ऊर्जा बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।





