काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरको सौन्दर्य र सुरक्षामा नकारात्मक प्रभाव पार्ने विज्ञापन सामग्रीलाई पूर्ण रूपमा निषेध गर्ने नीति अघि सारेको छ। आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उक्त व्यवस्था समेटिएको हो।
नगरसभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोल ले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सुशासन, सेवा प्रवाहको प्रभावकारिता तथा शहरी व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
महानगरले आफ्ना सूचना तथा गतिविधिको प्रचारप्रसारका लागि वेबसाइट, आधिकारिक मल्टिमिडिया च्यानल तथा डिजिटल प्लेटफर्महरूको प्रयोगलाई प्राथमिकता दिने जनाएको छ। साथै स्रोत–साधनको उपयोगलाई थप मितव्ययी, पारदर्शी र नतिजामुखी बनाइने नीति लिइएको छ। कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गर्दै महानगरपालिका तथा सबै वडा कार्यालयमा एकद्वार सेवा केन्द्र सञ्चालन गरिने कार्यक्रम पनि समावेश गरिएको छ।
नीति तथा कार्यक्रममा विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै ‘सिक्दै जाँदा कमाउनुहोस्’ अवधारणाअनुसार इन्टर्नसिप, फेलोसिप तथा पार्ट–टाइम इन्गेजमेन्ट कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ। यसबाट विद्यार्थीहरूलाई व्यावहारिक अनुभवसँगै आम्दानीको अवसर उपलब्ध हुने अपेक्षा गरिएको छ।
स्थानीय तहमा देखिने विवाद समाधानका लागि मेलमिलाप प्रक्रियालाई प्राथमिकता दिँदै न्याय सम्पादनलाई छिटो, सहज र पहुँचयोग्य बनाइने महानगरले जनाएको छ। त्यस्तै, शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामग्री पूर्ण रूपमा निषेध गरिने, शहरी सुव्यवस्थापनका लागि महानगर प्रहरी बललाई प्रभावकारी रूपमा परिचालन गरिने तथा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, समुदाय र सम्बन्धित संघसंस्थासँगको समन्वयलाई थप सुदृढ बनाइने नीति लिइएको छ।
सवारी पार्किङ व्यवस्थापनलाई व्यवस्थित बनाउन अध्ययन गरी आवश्यक कार्यक्रम कार्यान्वयन गरिनेछ। विशेषगरी नयाँसडक र आसपास क्षेत्रमा देखिएको पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि नेपाल वायु सेवा निगम को नयाँसडक गेटस्थित जग्गालाई बहुतले पार्किङका रूपमा उपयोग गर्न नेपाल सरकारमार्फत पहल गरिने उल्लेख गरिएको छ।
यसैगरी विश्वका विभिन्न शहरका सफल अभ्यासबाट ज्ञान, प्रविधि, सूचना तथा सांस्कृतिक आदान–प्रदान गर्दै काठमाडौंको समग्र विकासमा योगदान पुर्याउने उद्देश्यले ‘सबनेसनल डिप्लोमेसी’ को अवधारणालाई समेत अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।





