अमेरिका-इरान शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको बहुप्रतीक्षित शान्ति सम्झौतामा आज हस्ताक्षर हुने दाबी गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत ट्रम्पले सम्झौता सम्पन्न भएसँगै विश्वको अत्यन्त महत्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ हर्मुज सबै राष्ट्रका लागि पूर्ण रूपमा खुला हुने बताउनुभएको हो।

बीबीसीका अनुसार सम्झौताको मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले पनि आगामी २४ घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ। यद्यपि, इरानले भने सम्झौतामा हस्ताक्षर हुने समयबारे अहिलेसम्म स्पष्ट धारणा सार्वजनिक गरेको छैन। इरानी पक्षले सम्झौताको सम्भावना रहेको स्वीकार गरे पनि त्यसको ठोस समय तय भइनसकेको जनाएको छ।

राष्ट्रपति ट्रम्पले प्रस्तावित सम्झौताअनुसार इरानसँग रहेको उच्च संवर्द्धित युरेनियम भण्डारको व्यवस्थापन गरिने र अन्ततः त्यसलाई नष्ट गरिने बताउनुभएको छ। साथै, वार्ता सफल हुन नसके अमेरिकासँग अन्य “अन्तिम विकल्प” समेत रहेको चेतावनी उहाँले दिनुभएको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव तीव्र बनेको थियो। प्रस्तावित शान्ति सम्झौता सफलतापूर्वक कार्यान्वयन भएमा मध्यपूर्वको सुरक्षा अवस्था सुधार हुनुका साथै विश्व ऊर्जा बजार र अन्तर्राष्ट्रिय व्यापारमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्