बनेपा । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा शुक्रबार भएको बस दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरीले ६ सदस्यीय समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले शनिबार नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रबिन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक गङ्गा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक दिनेश खरेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ नायब निरीक्षक टङ्क सिवाकोटी (सदस्य सचिव) तथा इलाका प्रहरी कार्यालय देविटारका प्रहरी हवलदार बासुदेव खड्का सदस्य रहेका छन्।
समितिलाई दुर्घटनाको वास्तविक अवस्था, सम्भावित कारण तथा जिम्मेवार पक्षको पहिचान गरी सत्यतथ्य छानबिनसहित प्रतिवेदन पेश गर्न सात दिनको समय दिइएको छ।
शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा चार महिला र चार पुरुष गरी आठ जनाको घटनास्थलमै ज्यान गएको थियो। दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको धुलिखेल अस्पतालले जनाएको छ भने सबै घाइतेको उपचार सोही अस्पतालमा भइरहेको छ।
दुर्घटनाको कारणबारे विभिन्न अनुमान भइरहेका बेला प्रहरीले गठन गरेको छानबिन समितिले घटनाको विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउने तयारी थालेको जनाएको छ। दुर्घटनाले बीपी राजमार्गको सुरक्षा अवस्था र सार्वजनिक यातायात सञ्चालनमा अपनाइने सावधानीबारे पुनः प्रश्न उठाएको छ।






