काठमाडौं – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।
यस्तै, युवा, श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हालिरहेकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) संसद्मा पेश गर्ने कार्यसूची रहेको छ। त्यसैगरी मन्त्री यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ पनि अनुमोदनका लागि संसद्मा पेश गर्नेछिन्।
आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनसँग सम्बन्धित विनियोजन विधेयकसहित सांस्कृतिक सम्पदा संरक्षण र श्रम अधिकारसम्बन्धी महत्वपूर्ण अन्तर्राष्ट्रिय दस्तावेजहरू प्रस्तुत हुने भएकाले बैठकलाई विशेष महत्वका साथ हेरिएको छ।






