काठमाडौं – नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले नेपालले भारतको कुनै पनि भूभाग नमिचेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उहाँले नेपालले भारतीय भूमि अतिक्रमण गरेको प्रमाण नभएको भन्दै यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष दुवैले यथार्थ बुझ्न आवश्यक रहेको बताउनुभयो ।
परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा दिएको वक्तव्यपछि प्रतिक्रिया दिँदै नेता थापाले सरकारको जवाफप्रति एमाले सन्तुष्ट नरहेको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रियता र राष्ट्रिय हितको रक्षा गर्ने विषयमा आफ्नो पार्टीको संघर्ष फरक ढंगले निरन्तर जारी रहने बताउनुभयो ।
नेता थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताले सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिलाई सच्याउनुपर्ने धारणा राख्दै सभामुखले त्यस्ता अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाए संसद्मा देखिएको अवरोध अन्त्य हुन सक्ने बताउनुभयो ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले समेत भारतको केही भूमि मिचेको भन्ने अभिव्यक्ति दिएपछि त्यस विषयलाई लिएर संसद्मा विवाद चर्किएको छ । विपक्षी दलहरूले उक्त अभिव्यक्तिलाई राष्ट्रहितविपरीत र तथ्यहीन भन्दै संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्रीबाट स्पष्टिकरण र माफीको माग गर्दै आएका छन् । यसै विषयलाई लिएर प्रतिनिधिसभाको बैठक पटक–पटक अवरुद्ध हुँदै आएको छ ।






