काठमाडौँ – एशियाली खेलकुद पुरुष टी-२० क्रिकेट छनोटअन्तर्गत सिंगापुरमा जारी पहिलो सेमिफाइनलमा नेपाल फाइनल प्रवेशको नजिक पुगेको छ। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य पछ्याइरहेको नेपालले ६.५ ओभरमा २ विकेट गुमाएर ६८ रन बनाएको छ।
नेपालका लागि लोकेश बमले आक्रामक ब्याटिङ गर्दै १९ बलमा ५ चौका र १ छक्काको मद्दतमा अविजित ३२ रन बनाएका छन्। कप्तान रोहित पौडेल १२ बलमा ८ रन बनाएर क्रिजमा छन्। यसअघि कुशल भुर्तेलले ८ बलमा २० रनको विस्फोटक इनिङ्स खेलेका थिए। नेपाललाई अब जितका लागि ८१ बलमा केवल २९ रन आवश्यक रहेको छ। नेपालसँग अझै ८ विकेट बाँकी रहेकाले टोली बलियो अवस्थामा देखिएको छ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमा समेटिएको थियो। ओमानका लागि जैद अलीले सर्वाधिक २२ रन बनाए भने कप्तान जतिन्दर सिंहले १६ रनको योगदान दिए। अन्य ब्याटरहरू नेपाली बलिङसामु टिक्न सकेनन्। नेपालका बलरमध्ये करण केसी सर्वाधिक सफल रहे। उनले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ३ विकेट तथा कुशल मल्ल र सोमपाल कामीले समान १–१ विकेट लिए।
सुरुदेखि नै बलिङमा हाबी बनेको नेपाल अहिले ब्याटिङमा पनि उत्कृष्ट लयमा देखिएको छ। यस जितसँगै नेपाल प्रतियोगिताको फाइनलमा पुग्ने र एशियाली खेलकुद क्रिकेटमा स्थान सुरक्षित गर्ने लक्ष्यको एक कदम नजिक पुगेको छ।






