नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय, तीन महत्वपूर्ण समझदारीमा सहमति

काठमाडौँ-  परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच तीन महत्वपूर्ण विषयमा सहमति तथा समझदारी भएको छ। नयाँदिल्लीमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच भएको प्रतिनिधिमण्डलस्तरीय वार्ताले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। वार्ताको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा नेपाल र भारतबीच सीमापार डिजिटल भुक्तानी प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने सहमति भएको छ। यससँगै अब नेपाली नागरिकले पनि भारतमा क्यूआर कोडमार्फत डिजिटल भुक्तानी गर्न सक्ने बाटो खुलेको छ। यसअघि नेपाल आउने भारतीय नागरिकले मात्र मोबाइलमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्न पाउने व्यवस्था थियो।

सन् २०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतीय राष्ट्रिय भुक्तानी निगम (एनपीसीआई)बीच भएको समझदारीलाई कार्यान्वयनमा लैजाँदै दुवै देशले सीमापार विद्युतीय भुक्तानी प्रणाली विस्तार गर्ने निर्णय गरेका हुन्। यसले नेपाल–भारतबीचको व्यापार, पर्यटन, अध्ययन, स्वास्थ्य उपचार तथा जनस्तरको आवतजावतलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। त्यसैगरी, २०७२ सालको विनाशकारी भूकम्पपछि भारत सरकारको सहयोगमा पुनर्निर्माण गरिएका स्वास्थ्य क्षेत्रका ७२ र सांस्कृतिक क्षेत्रका १२ वटा परियोजना नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि एक अर्ब अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराएको थियो।

यस्तै, काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङअन्तर्गतको ‘सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स’ र भारतको ‘डिजिटल इन्डिया भाषिनी डिभिजन’बीच भाषा अनुवादमा आधारित ‘भ्वाइस फर्स्ट’ प्लेटफर्म विकासका लागि संयुक्त रूपमा राष्ट्रिय डिजिटल पूर्वाधार निर्माण गर्ने समझदारी पनि सम्पन्न भएको छ। यसलाई नेपाल-भारत प्रविधि सहकार्यको नयाँ आयामका रूपमा हेरिएको छ। भेटवार्ताका क्रममा दुवै पक्षबीच व्यापार तथा आर्थिक सहकार्य, ऊर्जा साझेदारी, सीमापार कनेक्टिभिटी, जलस्रोत व्यवस्थापन, पूर्वाधार विकास तथा खेलकुद र सांस्कृतिक आदानप्रदानमार्फत जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको थियो। सञ्चालनमा रहेका द्विपक्षीय परियोजनाको प्रगति समीक्षा गर्दै तिनलाई थप तीव्रता दिने विषयमा पनि सहमति भएको बताइएको छ।

भारतीय विदेशमन्त्री जयशङ्करले नेपालसँगको सहकार्यलाई भारतले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता, सूचना प्रविधि, स्टार्टअप, नवीकरणीय ऊर्जा तथा डिजिटल पूर्वाधारका क्षेत्रमा सहकार्य विस्तार गर्न चाहेको बताउनुभयो। पश्चिम एसियामा जारी संकटका बाबजुद नेपाललाई इन्धन आपूर्ति सुनिश्चित गरिएको विषय पनि उहाँले स्मरण गराउनुभयो। परराष्ट्रमन्त्री खनालले भारत नेपालका लागि सबैभन्दा महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै नयाँ सरकारले भारतसँगको सम्बन्धलाई अझ परिणाममुखी र रूपान्तरणकारी बनाउन चाहेको बताउनुभयो। उहाँले संकटका समयमा भारतले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, प्रविधि र जनस्तरका सम्बन्धमा नयाँ सहकार्यका अवसर पहिचान गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री खनालले आगामी दिनमा हुने उच्चस्तरीय भ्रमण र संवादहरूले नेपाल-भारत सम्बन्धमा नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विगतका विवादभन्दा भविष्यको साझेदारीलाई केन्द्रमा राखेर दुवै देश अघि बढ्नुपर्ने धारणा राख्दै नेपाल भारतसँग अझ सुदृढ, विश्वासिलो र परिणाममुखी सम्बन्ध निर्माण गर्न प्रतिबद्ध रहेको बताउनुभयो। नेपाल–भारत सम्बन्धको नयाँ चरणका रूपमा हेरिएको यस भ्रमणले आर्थिक, प्रविधि, पूर्वाधार तथा जनस्तरका सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्