काठमाण्डौ – एशियाली खेलकुद क्रिकेट छनोटअन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ। सिंगापुरमा जारी प्रतियोगिताको यो खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु भएको छ । जसमा ओमान ब्याटिङमा छ भने नेपाल बलिङमा रहेको छ । यो समाचार तयार पार्दासम्म पावलप्ले सकेको छ भने ओमालले ३ विकेट गुमाएर २४ रन पाएको छ । समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग खेल्न लागेको हो। समूह चरणमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै पहिलो खेलमा चीनलाई २२१ रनले तथा दोस्रो खेलमा मलेसियालाई १६७ रनले हराएको थियो।
नेपाल र ओमानबीच हालसम्म ९ वटा टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नेपालले ६ खेल जितेको छ भने ओमानले २ खेल आफ्नो पक्षमा पारेको छ। एक खेल नतिजाविहीन भएको थियो। पछिल्ला भेटहरूमा नेपालको प्रदर्शन बलियो देखिएकाले आजको खेलमा पनि टोली आत्मविश्वासका साथ मैदानमा उत्रने अपेक्षा गरिएको छ। आजको खेल जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ र एशियाली खेलकुदका लागि छनोट हुने सम्भावना बलियो बनाउनेछ। अर्को सेमिफाइनलमा मलेसिया र हङकङबीच प्रतिस्पर्धा हुनेछ।
कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको नेपाली टोलीले ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलित प्रदर्शन गर्दै आएको छ। विशेषगरी कुशल भुर्तेल, आसिफ शेख र शेर मल्लको उत्कृष्ट फर्मले नेपाललाई बलियो बनाएको छ। फाइनल प्रवेशको लक्ष्यसहित नेपाल आज मैदानमा उत्रिँदै गर्दा समर्थकहरूको ध्यान सिंगापुरतर्फ केन्द्रित भएको छ।






