काठमाडौं – मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ। समूह ‘डी’ मा रहेका नेपाल र हङकङ दुवै टोली यसअघि नै क्वाटरफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। आजको खेलको नतिजाले भने समूह विजेता र उपविजेताको टुङ्गो लगाउनेछ।
नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानलाई ५१ रनले हराएको थियो। यता हङकङले पनि कतारलाई ८३ रनले र भुटानलाई १४ रनले पराजित गर्दै लगातार दुई जित निकालेको छ। दुवै टोली समान रूपमा अपराजित रहेकाले आजको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। समूह विजेताका रूपमा क्वाटरफाइनल प्रवेश गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिनेछ।
समूहका अन्य टोली कतार र भुटान भने समूह चरणबाटै बाहिरिएका छन्। १८ राष्ट्र सहभागी रहेको प्रतियोगिताबाट शीर्ष चार टोली आगामी महिला टी–२० एसिया कप का लागि छनोट हुनेछन्। त्यसैले नेपालका लागि यो प्रतियोगिता एसिया कप यात्राको महत्वपूर्ण आधार बनेको छ। नेपाली टोली लगातार तेस्रो जित निकाल्दै समूह विजेताका रूपमा क्वाटरफाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा रहेको छ।






