परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा, नयाँ दिल्ली पुगे

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा २२ देखि २४ जेठसम्मको भ्रमणका लागि भारत पुगेका खनाललाई नयाँ दिल्लीस्थित विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नेपाल–भुटान मामिला हेर्ने अतिरिक्त सचिव मनु महावरले स्वागत गरेका थिए।

भारत प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नेपालका प्राथमिकताका विषयमा भारतीय पक्षसँग संवाद गर्ने बताएका थिए।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले आफ्ना भारतीय समकक्षी डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा नेपाल-भारत सम्बन्धका पारस्परिक हितका विविध विषयमा केन्द्रित भएर छलफल हुनेछ। विशेषगरी व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा क्षेत्र तथा दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा विस्तृत विचार–विमर्श हुने कार्यसूची रहेको छ।

परराष्ट्र मन्त्रालयले नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरताका रूपमा भइरहेको यस भ्रमणले नेपाल-भारतबीचको कूटनीतिक, ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

भ्रमण तालिकाअनुसार परराष्ट्रमन्त्री खनाल २४ जेठमा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्