काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
सोमबार बसेको दोस्रो बैठकमा नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले निरन्तर विरोध गरेपछि बैठक स्थगित भएको हो ।
बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले संसद् कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो भएकाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।
सभामुख अर्यालले आजका लागि तय गरिएका सबै कार्यसूची हटाइएको घोषणा गरेका थिए ।
यसैबीच संसद् बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गरेको आरोप लागेका सांसदहरूमाथि छानबिन गर्न समिति गठन गरिएको जानकारी पनि सभामुखले गराएका थिए ।
विपक्षीको विरोध कायम रहेपछि सभामुख अर्यालले बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका हुन् ।






