सबै आयोगका प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने : प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न आन्दोलन, प्रदर्शन तथा दमनसँग सम्बन्धित घटनाका विषयमा नेपाल सरकारलाई बुझाइएका सबै आयोगका प्रतिवेदनहरूको समग्र अध्ययन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उठाउनुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन मात्र नभई विगतका विभिन्न कालखण्डमा गठन भएका आयोगहरूले तयार पारेका प्रतिवेदनहरू पनि अध्ययन गरिने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री शाहका अनुसार विभिन्न समयमा भएका आन्दोलन, र्‍याली, विरोध प्रदर्शन तथा दमनका घटनाबारे अनेक आयोग र छानबिन समितिहरूले प्रतिवेदन तयार गरेका छन् । ती सबै प्रतिवेदनहरूलाई एकीकृत रूपमा अध्ययन गरी तिनमा समेटिएका निष्कर्ष र सिफारिसका आधारमा आवश्यक निर्णय तथा कारबाही प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो । उहाँले सत्य तथ्यको आधारमा न्याय सुनिश्चित गर्न तथा विगतका घटनाहरूको यथोचित सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

बैठकमा सांसद अर्जुननरसिंह केसीले मानव अधिकार आयोगलगायत विभिन्न निकायले तयार पारेका प्रतिवेदन कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई न्याय दिलाउन ठोस कदम चाल्न माग गर्नुभएको थियो । प्रधानमन्त्री शाहले सरकार प्राप्त प्रतिवेदनहरूको अध्ययनपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्