भारतले मात्र होइन, नेपालले पनि भारतीय भूमि मिचेको तथ्य फेला परेको छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारत सीमा विवादको विषयमा बोल्दै भारतले मात्र नभई नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको तथ्य आफू प्रधानमन्त्री बनेपछि थाहा पाएको बताउनुभएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सोध्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत सीमा विवादका विषय कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो। जवाफका क्रममा प्रधानमन्त्री शाहले भन्नुभयो, “तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्न सक्छ, मैले पनि प्रधानमन्त्री बनेपछि मात्रै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।”

उहाँले सीमा सम्बन्धी वास्तविक अवस्था पहिचान गर्न नेपाल र भारतबीच संयुक्त अध्ययन आवश्यक रहेको बताउँदै दुवै देशले तथ्यमा आधारित निष्कर्ष निकाल्नुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्री शाहले सीमा क्षेत्रमा देखिएका समस्या मित्रवत् वातावरणमा संवाद र सहमतिका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार सीमा विवादलाई राजनीतिक उत्तेजनाभन्दा पनि कूटनीतिक वार्ता, प्राविधिक अध्ययन र आपसी समझदारीमार्फत टुंग्याउनु नै दीर्घकालीन समाधानको आधार हुनेछ।

नेपाल र भारतबीच लिपुलेक, कालापानी तथा लिम्पियाधुरा क्षेत्रलाई लिएर लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। सरकारले यी विषयलाई द्विपक्षीय वार्ताको माध्यमबाट समाधान गर्ने नीति अवलम्बन गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्