काठमाण्डौ । सिङ्गापुरमा हुने एशियाली खेलकुद छनोट प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा टोलीलाई औपचारिक बिदाइ गरेको हो ।
आउँदो आइतवारदेखि जेठ २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ राष्ट्रको सहभागिता रहनेछ । समूह ‘ए’ मा नेपालसँगै मलेशिया र चीन रहेका छन् भने समूह ‘बी’ मा आयोजक सिङ्गापुर, ओमान, हङकङ र बहराइन रहेका छन् ।
दुवै समूहका शीर्ष दुई टोली एशियाली खेलकुदका लागि छनोट हुनेछन् । नेपालले उद्घाटन खेलमा चीनसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
नेपाल क्रिकेट सङ्घले प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एशियाली खेलकुदमा स्थान बनाउने लक्ष्य राखेको छ ।







