नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान

 

काठमाडौँ, जेठ १३ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै विश्वव्यापी आर्थिक अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकमा सुधार आएको बताएका छन् ।

आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण भइरहेका बेला नेपालको वृद्धिदरलाई सकारात्मक रूपमा हेरिएको छ । सर्वेक्षणले मुलुकको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुग्ने तथा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ ।

प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने देखिएको छ भने अन्य प्रदेशको वृद्धिदर औसतभन्दा कम रहने उल्लेख गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने अनुमान गरिएको छ ।

आर्थिक गतिविधिमा बागमती प्रदेशको वर्चस्व कायम रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान ३६.७ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । यद्यपि, प्रमुख खाद्यान्न बाली धानको उत्पादन ४.२० प्रतिशतले घटेर ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको देखाइएको छ ।

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय राजस्व ३.२ प्रतिशतले वृद्धि भएको जानकारी दिए । सरकारी खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्चमा अपेक्षित सुधार हुन नसकेको उनले बताए ।

सर्वेक्षणअनुसार सरकारको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत हो । चालु वर्षमा सरकारले ३ खर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ ।

बाह्य क्षेत्र भने बलियो अवस्थामा रहेको अर्थमन्त्रीले बताएका छन् । विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ भने विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँ पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ । उक्त सञ्चितिले १८.५ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने बताइएको छ ।

तर व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको उल्लेख गर्दै यसलाई अर्थतन्त्रका लागि चुनौतीका रूपमा प्रस्तुत गरिएको छ ।

प्रविधिमैत्री भुक्तानी प्रणालीमा पनि उल्लेख्य प्रगति भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । फागुनसम्म क्युआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको छ । साथै, सन् २०२५ को सार्वभौम क्रेडिट रेटिङमा नेपालले ‘बीबी–’ स्टेबल आउटलुक प्राप्त गरेको उल्लेख गरिएको छ, जसलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख सुधारिएको संकेतका रूपमा हेरिएको छ ।

मुद्रास्फीति औसत २.१३ प्रतिशतमा सीमित रहेको सर्वेक्षणले देखाएको छ ।

मानव विकास सूचकमा पनि नेपालले प्रगति गरेको उल्लेख गरिएको छ । मानव विकास सूचकाङ्क ०.६२२ पुगेको छ भने नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ । मातृ मृत्युदर प्रतिलाख १५१ र पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ३३ मा झरेको उल्लेख छ ।

शिक्षातर्फ आधारभूत तहको खुद भर्नादर ९७.८ प्रतिशत पुगेको छ भने स्वास्थ्य बिमा तथा सामाजिक सुरक्षा कोषमा नागरिकको सहभागिता बढ्दै गएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्