काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
नेपालले स्कटल्यान्डविरुद्ध विजयी भएको टोलीलाई नै निरन्तरता दिएको छ । नेपाल र अमेरिकाले दुवैले आफ्नो अघिल्लो खेलमा स्कटल्यान्डलाई पराजित गरेका थिए ।
दुवै टोलीले आज लिग–२ अन्तर्गत २८औं खेल खेलिरहेका छन् । अमेरिका २७ खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल समान खेलबाट २२ अंकसहित पाँचौं स्थानमा छ ।
आजको खेल जित्न सके नेपालले शीर्ष चारमा पुग्ने सम्भावनालाई थप बलियो बनाउनेछ । साथै घरेलु मैदानमा जारी शृंखला सुखद रूपमा समाप्त गर्ने अवसर पनि नेपालसँग रहेको छ ।
यसअघि नेपालले युएई र ओमान सम्मिलित शृंखलामा चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको थियो । हालको शृंखलामा नेपालले तीन खेलमध्ये दुईमा जित र एकमा हार व्यहोरेको छ । अब अन्तिम खेल जित्दै नेपाल तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।






