आठ विश्वविद्यालयका उपकुलपतिका लागि २१८ जनाको आवेदन

काठमाडौं – मुलुकका विभिन्न आठ वटा विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि कुल २१८ जनाले आवेदन दिएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार आवेदकहरूको नामावली सार्वजनिक गर्दै सबैभन्दा बढी आवेदन त्रिभुवन विश्वविद्यालय का लागि परेको जनाएको छ । मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न ५० जनाले आवेदन दिएका छन् । त्यसपछि पूर्वाञ्चल विश्वविद्यालयपोखरा विश्वविद्यालय मा समान ३८/३८ जनाको आवेदन परेको छ ।

त्यस्तै राजर्षि जनक विश्वविद्यालय का लागि २७, मध्यपश्चिम विश्वविद्यालय का लागि २० र सुदूरपश्चिम विश्वविद्यालय का लागि १९ जनाले आवेदन दिएका छन् । यसैगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय को उपकुलपति पदका लागि १५ तथा लुम्बिनी बौद्ध विश्वविद्यालय का लागि ११ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ । यसअघि अध्यादेशमार्फत साबिकका उपकुलपति तथा अन्य पदाधिकारी पदमुक्त भएपछि सरकारले नयाँ नियुक्ति प्रक्रिया अघि बढाएको थियो । मन्त्रालयले गत वैशाख २५ गते १० दिने समयसीमा दिँदै खुला आवेदन आह्वान गरेको थियो ।

उपकुलपति छनोट प्रक्रिया पारदर्शी बनाउन सस्मित पोखरेल को अध्यक्षतामा सिफारिस समिति गठन गरिएको छ । समितिले अब विज्ञ उपसमिति गठन गरी उम्मेदवारहरूको मूल्याङ्कन गर्ने जनाएको छ । उम्मेदवारहरूले सम्बन्धित विश्वविद्यालयको शैक्षिक सुधार, अनुसन्धान विस्तार, प्रशासनिक सुधार तथा गुणस्तर अभिवृद्धिसम्बन्धी पाँच हजार शब्दको रणनीतिक दृष्टिपत्र (भिजन पेपर) र कार्ययोजना (एक्सन प्लान) समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्