काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो ३ बजे भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने जनाइएको छ । बैठकमा पार्टीको कार्यविभाजनलाई मुख्य प्राथमिकतामा राखिएको एमाले नेताहरूले बताएका छन् । गत मंसिर अन्तिम साता सम्पन्न ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए पनि नेताहरूको औपचारिक कार्यविभाजन अझै हुन सकेको छैन । हाल केन्द्रीय सदस्यहरूलाई अस्थायी रूपमा चुनाव केन्द्रित जिम्मेवारी दिइएको भए पनि स्थायी कमिटी, पोलिटब्युरो, जिल्ला इन्चार्जलगायत जिम्मेवारी बाँडफाँट हुन बाँकी रहेको छ । साथै विभागीय प्रमुख, उपप्रमुख तथा इन्चार्ज तोक्ने कामसमेत अधुरै रहेको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कार्यविभाजनको खाका प्रस्तुत गर्ने तयारी गरेको एक पदाधिकारीले बताएका छन् । यद्यपि एमालेभित्र कार्यविभाजनभन्दा पार्टी पुनर्गठनको माग चर्किंदै गएको छ । केही सचिवालय सदस्यहरूले अध्यक्ष ओलीले नेतृत्वको विकल्पबारे सोच्नुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका छन् ।
एमालेको गत फागुन २१ गतेको चुनावी समीक्षासमेत अझै हुन सकेको छैन । तल्लो तहबाट चुनावी समीक्षा प्रतिवेदन मागिए पनि त्यसबारे औपचारिक छलफल हुन बाँकी रहेको नेताहरू बताउँछन् । अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण बैठकमा सबै विषयमा विस्तृत छलफल नहुन सक्ने नेताहरूको भनाइ छ । पित्तथैली र हर्नियाको शल्यक्रियापछि ओली पूर्ण रूपमा स्वास्थ्य लाभ गरिसकेका छैनन् । स्वास्थ्यकै कारण शनिबार बस्ने भनिएको सचिवालय बैठक सोमबारका लागि सारिएको थियो ।





