शतप्रतिशत नतिजा ल्याउन सफल अर्किड प्युपल सेकेण्डरी स्कुल

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९, गोठाटारस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलले गत बर्ष झै यस वर्षको एसईई परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेको छ । विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण तथा विद्यार्थी केन्द्रित शिक्षण पद्धतिका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको जनाएको छ । विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकको सहयोगले विद्यालयलाई सफलताको उचाइमा पुर्‍याएको हो ।

विद्यालयका प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले शतप्रतिशत नतिजाले विद्यालय परिवारलाई थप उत्साहित बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले केवल परीक्षामुखी शिक्षा होइन, व्यवहारिक, नैतिक र जीवनोपयोगी शिक्षामा जोड दिँदै आएका छौं । विद्यार्थी, शिक्षक र अभिभावकबीचको समन्वयकै कारण यो उत्कृष्ट उपलब्धि हासिल भएको हो । आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।”

उहाँले गत वर्ष विद्यालयका एक विद्यार्थीले एसईईमा ४ जीपीए ल्याएर विद्यालयको प्रतिष्ठा थप उचो बनाएको स्मरण गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयले सफल सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ । साथै, अध्ययनसँगै अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास तथा प्रविधिमैत्री शिक्षण प्रणालीमार्फत सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादनमा विद्यालय निरन्तर क्रियाशील रहेको जनाएको छ ।

 

अर्किड पिपुल सेकेण्डरी स्कुलले शैक्षिक गुणस्तरसँगै विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटनलाई समान प्राथमिकता दिँदै विभिन्न अतिरिक्त तथा सिर्जनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । विद्यालयमा नियमित रूपमा डान्स, म्युजिक, योगा, फुटबल, हेन्डराइटिङ, ड्रइङ, वक्तृत्वकला तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिँदै आइएको छ । विद्यार्थीभित्र रहेको कला, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयले हरेक वर्ष “अर्किड आइडल” अन्तर्गत सिंगिङ तथा डान्सिङ प्रतियोगिता आयोजना गर्ने गरेको छ, जसले विद्यार्थीलाई आफ्नो प्रतिभा राष्ट्रिय स्तरसम्म प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ । त्यसैगरी विद्यालयको गौरवको कार्यक्रमका रूपमा परिचित अन्तरविद्यालय “अर्किड कप” खेलकुद प्रतियोगिता पनि विशेष आकर्षणको केन्द्र बन्ने गरेको छ । उक्त प्रतियोगितामा काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रका ५० भन्दा बढी विद्यालयहरूको सहभागिता रहने गर्दछ । यस कार्यक्रमले विद्यार्थीहरूबीच प्रतिस्पर्धात्मक भावना, नेतृत्व क्षमता, अनुशासन, सहकार्य र खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको विद्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्