काठमाडौं – काठमाडौंको नयाँ बानेश्वर, शंखमूलस्थित नेरिक एकेडेमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेको छ । विद्यालयका अनुसार एसईई परीक्षामा सहभागी २६ जना विद्यार्थी सबै ए प्लस र ए ग्रेडमा उत्तीर्ण भएका छन् । उत्कृष्ट नतिजासँगै विद्यालयले गुणस्तरीय शिक्षामा आफ्नो पहिचानलाई अझ मजबुत बनाएको जनाएको छ ।
विद्यालय प्रशासनका अनुसार विद्यार्थीको निरन्तर मेहनत, शिक्षकको समर्पण र अभिभावकको विश्वासकै कारण विद्यालयले उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएको हो । विद्यालयले अध्ययनसँगै अनुशासन, व्यवहारिक शिक्षा तथा अतिरिक्त क्रियाकलापलाई समान महत्व दिँदै आएको जनाएको छ ।
विद्यालयका प्रिन्सिपल मिलन कँडेल ले उत्कृष्ट नतिजाले विद्यालय परिवारलाई थप उत्साहित बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले केवल परीक्षामुखी शिक्षा होइन, विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई केन्द्रमा राखेर शिक्षण गर्दै आएका छौं । शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यकै कारण यस वर्ष पनि उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका हौं ।”
नेरिक एकेडेमी प्रविधिमूलक शिक्षण सिकाइ, विज्ञान तथा रोबोटिक शिक्षामा अग्रस्थानमा रहेको यस क्षेत्रकै अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित छ । नेपाल सरकारले अवलम्बन गरेको आधुनिक, व्यवहारिक तथा सीपमूलक शिक्षाको अवधारणालाई आत्मसात गर्दै विद्यालयले विद्यार्थीकेन्द्रित, प्रविधिमैत्री र अनुसन्धानमुखी शिक्षण प्रणाली सञ्चालन गर्दै आएको छ । विद्यालयमा विज्ञान प्रयोगशाला, रोबोटिक्स कक्षा, डिजिटल लर्निङ प्रणाली तथा व्यवहारिक शिक्षामार्फत विद्यार्थीलाई भविष्य प्रतिस्पर्धी बनाउने प्रयास गरिँदै आएको छ । शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यालय अब्बल मानिन्छ ।
विद्यालयले नियमित रूपमा नृत्य, संगीत, फुटबल, बास्केटबल, योगा, कराँते, चित्रकला, हस्तलेखन, वक्तृत्वकला, हाजिरीजवाफ, विज्ञान प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा नेतृत्व विकाससम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । विद्यार्थीको अन्तरनिहित क्षमता, सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व विकासमा जोड दिने शिक्षण शैलीका कारण नेरिक एकेडेमी अभिभावक तथा विद्यार्थीमाझ विश्वासिलो र उत्कृष्ट विद्यालयका रूपमा स्थापित हुँदै गएको छ ।
उहाँले आगामी दिनमा अझ प्रविधिमैत्री, व्यवहारिक तथा प्रतिस्पर्धात्मक शिक्षा प्रणालीमार्फत विद्यार्थीलाई सक्षम नागरिकका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयले सफल सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ ।