काठमाडौं – नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय वाणिज्य बैंक लाई दुई फरक विधामा सम्मान प्रदान गरेको छ। डिजिटल भुक्तानी र प्रविधिमैत्री सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै बैंकलाई एकैसाथ दुई अवार्ड प्रदान गरिएको हो।
काठमाडौंमा आयोजित विशेष समारोहमा बैंकलाई सबैभन्दा बढी ‘क्यूआर’ मर्चेन्ट कारोबार गर्ने र सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंकको रूपमा पुरस्कृत गरिएको हो। उक्त सम्मान बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले ग्रहण गर्नुभयो।
सरकारी स्वामित्वको यस बैंकले पछिल्लो समय प्रविधिमा आधारित बैंकिङ सेवा विस्तार गर्दै डिजिटल कारोबारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। सम्मान ग्रहणपछि बैंकले आगामी दिनमा पनि डिजिटल बैंकिङ प्रवर्द्धन, सुरक्षित भुक्तानी प्रणाली विकास तथा ग्राहक केन्द्रित सेवामा अझ प्रतिबद्ध भएर अघि बढ्ने जनाएको छ।
नेपाल राष्ट्र बैंक बाट अनुमति प्राप्त एनसीएचएलले हरेक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने वित्तीय संस्थाहरूलाई प्रोत्साहनस्वरूप यस्ता सम्मान प्रदान गर्दै आएको छ।






