रास्वपाको नयाँ नीति: स्थानीय चुनावका उम्मेदवार यी प्रक्रियाबाट छनोट गरिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ले आगामी २०८३ सालमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विस्तृत रूपरेखा सार्वजनिक गरेको छ। परम्परागत दलहरूले अपनाउँदै आएको बन्द कोठाको निर्णय, नातावाद र आर्थिक प्रभावलाई अन्त्य गर्दै पारदर्शी र लोकतान्त्रिक विधिबाट उम्मेदवार चयन गर्ने नीति अघि सारिएको हो।

पार्टीले सार्वजनिक गरेको ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुसार अब नेताको पहुँच वा शक्ति केन्द्रसँगको निकटताका आधारमा होइन, जनताको विश्वास जित्ने र स्पष्ट स्थानीय विकास योजनासहितका व्यक्तिलाई मात्रै उम्मेदवार बनाइनेछ।

रास्वपाले नेपाली राजनीतिमा उम्मेदवार छनोट प्रक्रिया विकृत भएको निष्कर्ष निकाल्दै ‘मनी र मसल’ को प्रभावलाई पूर्ण रूपमा निषेध गर्ने जनाएको छ। अन्तिम समयमा टिकट वितरण, गुटगत प्रभाव र चाकडी संस्कृतिको अन्त्य गर्दै विधि, मापदण्ड र प्रमाणमा आधारित प्रणाली लागू गरिने बताइएको छ।

पार्टीका अनुसार उम्मेदवार किन छनोट भयो भन्ने प्रश्नको उत्तर अब व्यक्तिगत निर्णय होइन, संस्थागत मूल्याङ्कन प्रक्रियाबाट दिइनेछ। दलभित्रको आन्तरिक सुशासन नै राज्य सुधारको आधार भएको ठहर गर्दै रास्वपाले ‘लिडरशिप एकेडेमी’ र ‘उम्मेदवार क्लब’ जस्ता संरचनामार्फत सक्षम नेतृत्व विकास गर्ने योजना अघि सारेको छ।

यस प्रक्रियाले स्थानीय जनअपेक्षा बुझ्न सक्ने, राष्ट्रिय दृष्टिकोणसँग जोड्न सक्ने र प्रभावकारी नेतृत्व प्रदान गर्न सक्ने व्यक्तिको पहिचान गर्ने लक्ष्य राखेको छ। साथै, महिला, दलित, सीमान्तकृत समुदाय, युवा, अपाङ्गता भएका व्यक्ति तथा अन्य विविध समूहलाई नेतृत्वमा समावेश गर्ने नीति लिइएको छ।

रास्वपाले स्थानीय तहलाई सेवा प्रवाह सुधार, सुशासन कायम र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने मुख्य संरचनाका रूपमा व्याख्या गर्दै योग्य, इमानदार र सक्षम नेतृत्व चयन आवश्यक रहेको जनाएको छ। पार्टीले यस प्रक्रियालाई निरन्तर सुधार गर्दै लैजाने र सुझावलाई आत्मसात् गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्